काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।
महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।
बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन । त्यसैले बालेनले आफ्नै तर्फबाट एक्सन लिने तयारी गरेका हुन् ।