काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ ।
हिजोका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई आजका लागि सारिएको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताएका थिए ।
लामिछानेविरुद्ध पासपोर्ट सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि नै प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो ।