धनगढी । थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा ए डिभिजन प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।
थ्री स्टार पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रोपटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ। थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे ।
उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान बिक्रम लामा बने।
यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे। उत्कृष्ट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे।