काठमाडौं । प्रशान्त क्षेत्रमा बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता भेटवार्ता हुने भएको छ ।
सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनासम्म वार्ता भएको थियो । आगामी वार्तामा अष्ट्रेलियाले आठवटा आणविक पनडुब्बी प्राप्तिको योजना प्रस्तुत गर्ने बताइएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको इतिहासमा आणविक पनडुब्बी प्रतिरक्षा क्षमता अभिवृद्धिका निम्ति महत्वपूर्ण हुने बताएका छन् ।
पनडुब्बी सम्झौता अष्ट्रेलिया, संयुक्त अधिकाराज्य र अमेरिकाबीचको नयाँ क्षेत्रीय सम्झौताको नयाँ हिस्सा हो जसलाई एयुकेयुएस पनि भनिन्छ । राष्ट्रपति जो बाइडेनले आगामी सोमबार क्यालिफोर्नियाको सान डिएगोमा अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग एयुकेयुएस सम्बन्धी छलफल गर्ने बताएका थिए ।