काठमाडौं । न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गरेका हुन् ।
न्युजिल्यान्डको इतिहासमा यो तेस्रोपटक राष्ट्रिय आपत्काल घोषणा गरिएको हो। यसअघि क्राइस्टचर्च आतङ्ककारी हमलापछि सन् २०१९ मा र कोभिड महामारीको बेला सन् २०२० मा आपत्कालको घोषणा भएको थियो। अहिले चक्रवातका कारण समुद्री छालहरु पनि उठिरहेका छन्।
न्युजिल्यान्डमा भारी वर्षा र तीव्र हावाका कारण ३८ हजारभन्दा बढी मानिसले घरमा बिजुली गुमाएका बीबीसीको खबरमा उल्लेख छ। ५ सयभन्दा बढी उडानहरू रद्द भएकाले दश हजार हवाई यात्रु प्रभावित भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
न्युजिल्यान्डको मौसम विज्ञान एजेन्सी, मेटसर्भिसले अकल्यान्डको उत्तरी सहर वाङ्गरेइमा पछिल्लो २४ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको बताएको छ।