काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधवार दिउँसो सार्वजनिक गरेको तथ्याङ्कमा ज्यान गुमाउनेको सङ्ख्या ११ नाघेको उल्लेख छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पबाट आठ हजार पाँच सय ७४ जनाको ज्यान गएको छ। यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएका जनाएको थियो ।
यसैगरी सिरियामा कम्तीमा एक हजार दुई सय ५० जनाको ज्यान जानुका साथै दुई हजार ५४ जना घाइते भएका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार दुई सय ८० जनाको ज्यान जानुका साथै दुई हजार ६ सय भन्दा धेरै जना घाइते भएका उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीमा सोमवार बिहान पहिलोपटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।