काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
आजदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हो । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो ।
चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा हिजोको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो ।
समितिले सीसीटीभी फुटेज मगाए पनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो । डिलिट भएको सीसीटीभी फुटेज पुनः प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुको सहयोग लिन लागिएको छ ।