काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले ल्याउने बजेटलाई नागरिकले अपनत्व गर्न नसकेको बताए । उनले सरकारले ल्याउने हरेक बजेटमा नागरिकले योगदान दिइरहेको बताउँदै उनीहरुले तिरेको करबाट बनेको बजेटलाई उनीहरुले स्वामित्व लिन नसकेको बताए ।
झाले सरकारले ल्याउने हरेक बजेट आय र व्ययको सन्तुलित स्वरुप मात्र भएकोले यसलाई जटिल रुपमा बुझ्न र बुझाउन नहुने तर्क गरे । बजेट निर्माण गर्दा देखिएको त्रुटीलाई कसैले पनि आत्मसाथ गर्न नसकेको झाले बताए ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बढुले अहिलेको बजेटले आर्थिक पक्षलाई सुधार ल्याउन पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए । उनले बजेट कार्यान्वयन गर्न रणनीतिक कार्ययोजना समेत ल्याएकाले अहिले नै बजेटका बारेमा संशय कायम गर्न नहुने तर्क गरे ।
यस्तै नेकपा एमालेका सांसद रघुबीर महासेठले सरकारले ल्याएको बजेट यथार्थपरक हुन नसकेको बताए । महासेठले नारायणी र तिनाहु नदीमा सिग्नेचर पुल निर्माण गर्ने परिकल्पना गर्नु हास्यास्पद भएको बताए । उनले एउटा सिग्नेचर पुल निर्माण गर्दा तीनगुना महंगो पर्ने भएकाले यो सम्भव नभएको तर्क गरे ।
बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवले बजेट निर्माणको प्रक्रिया नै गलत भएको बताए । उनले बजेट निर्माणमा जनतप्रतिनिधिका सहभागी नभएर कर्मचारी र विचौलियाहरुको घुसपैठ हुने गरेको आरोप लगाए । यादवले समाजवाद उन्मूख निर्माण हुनुपर्नेमा विशुद्ध रुपमा पूँजीवादलाई प्रश्रय दिने खालको भएको बताए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा सबै राम्रो एउटा सत्ताबाहिर रहँदा सबै खराब देख्ने परिपाटी दुवै अतिवादी भएको बताए । सरकारले ल्याएको बजेट सरकारका लागि राम्रो प्रतिपक्षलाई नराम्रो हुनु विडम्बना भएको बताए ।