काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । तनहुँ १, चितवन २ र बारा २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध हिजो उजुरी दर्ताको समय तोकिएको थियो ।
तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आयोगले आज उजुरीमाथि छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा चारवटा उजुरी परेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार एउटा उजुरी इमेलबाट आएको छ भने एउटा राष्ट्रिय जनमोर्चाबाट र अन्य दुईवटा स्वतन्त्र उम्मेदवारले लामिछाने विरुद्ध उजुरी दिएका हुन् ।
संविधानको धारा २९१ ले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले नेपालको कुनै पनि पदमा निर्वाचित हुनका लागि त्यस्तो आवासीय अनुमतिपत्र त्यागेको तीन महिना पुगेको हुनुपर्ने व्यवस्था गरेको छ ।
संविधानको यही व्यवस्थाअनुसार रवि लामिछानेले उम्मेदवार बन्न नपाउने जिकिर गर्दै लामिछानेविरुद्ध चारवटा उजुरी परेका हुन् । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन २ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।