काठमाडौं । नेपाल वायुसेवा निगमले कोपाइलट बिरामी भएपछि दुबई उडान १२ घण्टा ढिलो भएको घटना छानबिन गर्न समिति बनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा हिजो कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिले शनिबार रातिको घटनाको छानबिन गरी सुझावसहितको प्रतिवेदन तीन दिनभित्र कार्यकारी अध्यक्षलाई दिनुपर्ने निर्देशन दिइएको छ । समितिमा निगमको न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल सदस्य छन् ।
प्रवक्ता पौडेलले उक्त उडानबाट अमेरिका, युरोपलगायत तेस्रो गन्तव्य मुलुक जानुपर्ने ६६ यात्रुमध्ये ९ जनालाई हिजो बिहान र बाँकी ५७ जनालाई हिजो राति अन्य वायु सेवाबाट पठाइएको बताए ।
निगमको वाइडबडी विमान उड्नै लाग्दा कोपाइलटको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान कम्तीमा १२ घण्टा ढिला भएको थियो ।