काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ ।
पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहनुभएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गरेको सचिव पौडेलको भनाइ छ । सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पु¥याउने माओवादीले विश्वास लिएको छ ।
त्यस्तै सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो । गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उहाँको भनाइ छ ।
त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो। सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ ।
यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ।