काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको गठबन्धनको सरकारको आयु अनिश्चित देखेका कारण भारतले औपचारिक रुपमा भ्रमणको निम्तो नदिएको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै भट्टले भारतले अहिलेको सरकार कुनैपनि बेला ढल्न सक्ने आंकलन गरेको बताए । उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका बेला समेत भारत अझैपनि यो सरकारप्रति आश्वस्त हुन नसकेको प्रष्ट भएको बताए ।
अहिलेको सरकार इन्डो अमेरिकन आधारमा गठन भएको बताउँदै भारत र अमेरिकाले नेपालका सबै पदहरुमा कम्युनिष्टहरु नपुगोस् भन्ने चाहेको बताए । उनले राष्ट्रपति निर्वाचनका बेलासम्म पुग्दा यो गठबन्धन टुट्न सक्नेमा उनीहरुमा समेत आशंका रहेको बताए ।
भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यले पनि अहिलेको गठबन्धन कुनैपनि बेला भत्किन सक्ने सम्भावना रहेको बताए ।