काठमाडौं । नेपाली सञ्चार माध्यममा सम्पादकीय स्वतन्त्रता अस्तित्वमा नरहेको पत्रकार रामप्रसाद दाहालले बतएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै दाहालले आजभन्दा ४ बर्ष अगाडि भएको सम्पादकहरुको भेलामा समेत नेपालमा सम्पादकीय स्वतन्त्रता मरिसकेको निचोड निकालिएको बताए । उनले नेपाली पत्रकारितामा सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुनु गम्भीर बिषय भएको बताए ।
नेपाली सञ्चार माध्यमका न्यूज रुम कसरी चलिरहेको छ भन्नेमा समेत प्रश्नहरु उब्जिएको बताउँदै दाहालले कतिपय बेला न्यूज रुम भित्र राजनीतिक हस्तक्षेप समेत हुने गरेको बताए । दाहालले अहिलेको नेपाली सञ्चार माध्यममा कमि कमजोरी थुप्रै भएता पनि मुलुकको परिर्वतनमा खेलेको भूमिकालाई कसैले नजर अन्दाज गर्न नमिल्ने बताए ।
पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चार माध्यममाथि उठाएको प्रश्नको जवाफ लामिछाने स्वयंले पनि दिनुपर्ने दाहालले बताए । विगतमा आफू सञ्चारकर्मी र सञ्चार उद्यमी पनि भएकाले अहिले उठेका प्रश्नको नैतिक जिम्मेवारी रवि लामिछाने स्वयंले पनि लिनुपर्ने दाहालले तर्क गरे ।