काठमाडौं । राष्ट्रपतिको सवारीका क्रममा भएका घटनाको गृहमन्त्रालय लगायत राष्ट्रपति कार्यालयले पनि नैतिक जिम्मेवारी लिनुपर्ने प्राध्यापक एवं विश्लेषक डा.ज्ञान बस्नेतले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै बस्नेतले जनताबाट चुनिएको राष्ट्रपतिको सवारी हुँदा आम नागरिकले सास्ती पाउनु कुनैपनि हालतमा न्यायोचित नभएको बताए । उनले विगतदेखि नै विकसित हुँदै आएको यो परिपाटीको अन्त्य नहुने हो भने राष्ट्रपति र राष्ट्रपति कार्यालयप्रति नै नागरिक तहमा वितृष्णा फैलिने बताए ।
नेपालको राजनीतिको कुनै भविष्यबाणी गर्न नसकिने बताउँदै बस्नेतले अहिलेको राजनीति निष्ठा र सिद्धान्तमा चल्न नसकेको समेत बताए । उनले फागुन ११ गते राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भएपछि यो गठबन्धन टुट्ने बताए ।
बस्नेतले निष्ठा र सिद्धान्त भन्दा पनि शक्ति स्वार्थमा केन्द्रित राजनीतिले प्रश्रय पाइरहेको नेपालको राजनीतिले कुनै निश्चित दिशा लिन नसक्ने बताए ।