काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ । राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए ।
२०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए । २०६२/६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।
२०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ ।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।
कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुयाएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी कोइरालाको १२औँ स्मृति दिवस मनाउँदै छन् ।