काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिँदा देशमा संघीयता संस्थागत हुन नसकेको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा शनिवार सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उनले बताए । उनले सोही कार्यक्रममा नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने पनि बताए ।
राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ‘ओभर पोलिटिसाइज’ नगरी प्रजातान्त्रिक विधिसम्मत तरिकाले कार्य गर्नुपर्ने उनको भनाइ छ । सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनुपर्ने उनले बताए ।
उनले अबको दिन भनेको आइटी र फाइनान्सको रहेको बताउँदै शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने पनि बताए ।