काठमाडौं । भारतविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी मेडलसहित सम्मानित भएका छन् । ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका हुन् ।
पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली टोली दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पराजित भए पनि नेपाली खेलाडीलाई भारतीय प्रशिक्षक राहुल द्रविड र पूर्व कप्तान विराट कोहलीले मेडल लगाइदिएर सम्मान गरेका थिए ।
सोमबार श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । तर, नेपालले भारतविरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेका बेला नेपाली खेलाडीलाई भारतीय खेलाडीले मेडल लगाएर सम्मान गरेका हुन् । जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिने माहोल भारतकै प्रशिक्षक मोन्टी देसाईले सिर्जना गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारतविरुद्ध २३० रन बनाएको थियो ।
वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षति १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरूसँग भेट गरेका थिए । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिएका हुन् ।