काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए ।
नवौं नम्बरमा क्रिज समाल्न आएका सोमपालले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
पाकिस्तानका बलर शहनवाज दहानीले पाँच विकेट लिए ।
जुलाई २३ तारिखसम्म चल्ने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ ।