काठमाडौं । उपसभामुख इन्दिरा रानाले विश्वमा शान्ति बिना विकास सम्भव नभएको बताएकी छन् । मानव जगतको समृद्धि र विकासका शान्ति बिना कुनै पनि हालतमा सम्भव नभएको रानाले बताइन् ।
युनिभर्सल पिस फेडरेशनले सोमबार राजधानीमा आयोजना गरेको शान्तिकी जननी डा.हाक जा हान मुनको आत्मबृतान्त पुस्तक ‘शान्तिप्रिय आमा’ को विमोचन कार्यक्रममा उपसभामुख रानाले आफूले विगतमा समाजसेवा गर्दा नागरिक समाजबाट सम्मान पाउँदा गर्व लागेको बताइन् । उनले डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत भएको बताइन् ।
कार्यक्रममा युनिभर्सल पिस फेडरेशन एशिया प्यासिफिकका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले जीवनमा भोगिने विभिन्न खालका संघर्षबाट नै सफलता हासिल गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण डा.हाक जा हान मुन भएको बताए । ढकालले डा.मुन आफैपनि विभिन्न संघर्ष पार गरेर विश्वमा परिचित महिला बन्नुभएकाले उहाँबाट अरुले पनि प्रेरणा लिन सक्ने बताए ।

शान्तिकी जननीका रुपमा परिचित डा.हाक जा हान मुनले जीवनमा भोगेका उत्कृष्ट भोगाइहरुलाई समेटेर प्रकाशित पुस्तक ‘शान्तिप्रिय आमा’ मा ११ अध्यायमा शान्ति, करुणा, जीवन, जगत अनि परिवारलाई कसरी मजबूद् बनाउन सकिन्छ ? भन्ने बिषयलाई आत्मबृतान्तका रुपमा समेटिएको छ ।
कार्यक्रमका विश्व शान्ति दूतका रुपमा वरिष्ठ कलाकार मुरलीधर, सञ्चारकर्मी मञ्जु कार्की लामिछाने तथा शिक्षासेवी दिपक महर्जनलाई सम्मान गरिएको थियो ।



