काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् । आज (बिहीवार) नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन् ।
उनले चेम्बरले देशको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए । देशको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताउँदै उनले चेम्बरले उठाएका मागलाई छलफल गरेर सकारात्मक समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासङ्घसँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए । उनले व्यवसायीको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताउनुभयो । त्यस्तै उहाँले शेयर बजार सुधारका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिए ।
छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालु पँजी कर्जाको कारण अर्थतन्त्र सङ्कुचनमा परेको बताए । उनले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालु पुँजी कर्जालाई तत्कालका लागि स्थगित गर्न माग गरे । अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर एकल अङ्कमा ल्याउन आग्रह गरेका छन् ।
अध्यक्ष मल्ले भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्दर्भ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन पनि आग्रह गरे । उनले बैंकले कर्जामा लिने प्रिमियम दर बढीमा दुई प्रतिशत कायम गर्नुपर्ने बताउनुभयो । सरकारले चालु पुँजी कर्जा मार्गदर्शन लागू गरे धेरैजसो उद्योग बन्द हुने उनको दाबी छ ।