काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे २८ अर्ब रुपैयाँ बराबरको बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको आन्तरिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८र७९ मा मात्र विनियोजन, राजस्व, धरौटी र कार्य सञ्चालन कोषतर्फको लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ बेरुजु कायम भएको हो ।
सरकारले यस आवमा कुल १६ खर्ब ३२ अर्ब ८२ करोड १६ लाख रुपैयाँ बजेट कार्यान्वयन गरेको थियो । जसबाट कुल १३ खर्ब ९ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ निकासा खर्च भएको थियो । विनियोजनतर्फ २७ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बेरुजु कायम भएको छ । यो २.०७ प्रतिशत हो ।
यस आवमा राजस्वतर्फ १३ करोड २१ लाख, धरौटीतर्फ ३६ करोड ३४ लाख, कार्यसञ्चालन कोषतर्फ ८८ करोड १८ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा बेरुजु रकम २५ अर्ब २६ करोड ५० लाख रुपैयाँ कायम भएको थियो । यस आवमा देखिएको बेरुजु अघिल्लो आवको तुलनामा ३ खर्ब २२ करोड ८५ लाख रुपैयाँले धेरै हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार निकासा खर्चमध्ये ४ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत तल्लो सरकारमा हस्तान्तरण भएको रकम हो । महालेखाले बेरुजुको प्रकृति विश्लेषण गर्दा एकै प्रकृतिको बेरुजु बढ्दै गएको भन्दै यसमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन समेत आग्रह गरेको छ ।