काठमाडौं । विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो । बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।
२०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त छ । संयुक्त राष्ट्र सङ्घको आकलनअनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ ।
सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नु पर्ने बताएका थिए ।